शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाली कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानद्वारा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय

बिहिबार, साउन २८ २०८३

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको बैठकले आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ । महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड आगामी भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्राविधिक कारणले उक्त दिन महिला दौडको विजेता घोषणा गर्न नसकिएको भन्दै पुनः दौड सञ्चालन गर्न लागिएको हो । यसमा यसअघि दर्ता भइसकेका सहभागीका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ ।

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति पनि गठन गरेको छ । उपसमितिको सहजीकरण नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्नेछिन् । प्रतिष्ठानको सातौँ बैठक भदौको पहिलो साता पुनः बस्ने गरी स्थगित गरिएको छ ।