काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषणा गराउने षड्यन्त्र भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गरिरहेका कामप्रति प्रश्न उठाउँदै भट्टराईले सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका व्यक्त गरेका हुन्।
उनले संसद्लाई निष्प्रभावी बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने तथा कर्मचारीको हुर्मत लिने काम भइरहेको आरोप लगाए।
त्यस्तै, प्रेसमाथि सेन्सरसिप लगाउने, आफ्नै तथा अन्य राजनीतिक दललाई किनाराकृत गर्ने, व्यापारी तथा उद्योगीलाई लखेट्ने र परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने काम भइरहेको उनको दाबी छ।
भट्टराईले गरिब तथा सुकुम्वासीको उठिबास लगाउने, कानुन र संविधानको धज्जी उडाउने तथा धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढावा दिने गतिविधिप्रति पनि प्रश्न उठाएका छन्।
‘यसरी सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदैछैन ?’ उनले प्रश्न गरेका छन्।
भट्टराईले यसअघि पनि सरकारका गतिविधि र राज्य सञ्चालनका विषयमा आलोचनात्मक धारणा राख्दै आएका छन्।