शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जनआस्थाको कार्यालयमा प्रहरीको खानतलासी, कम्प्युटर र मोबाइलसहित उपकरण संकलन

बिहिबार, साउन २८ २०८३

काठमाडौं । ‘जनआस्था’ साप्ताहिकको कार्यालयमा प्रहरीले बिहीबार बिहान खानतलासी गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरको सानेपास्थित जनआस्थाको कार्यालयमा प्रवेश गरी खानतलासी गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले कार्यालयबाट कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय उपकरण संकलन गरेको छ।

‘कति वटा भन्ने खुल्न बाँकी छ। उहाँको कार्यालय, उहाँसँग सम्बन्धित र यो केससँग सम्बन्धित उपकरणहरू संकलन गरिएको हो,’ एसपी थापाले भने।

जनआस्थाका एक पत्रकारका अनुसार केही संख्यामा प्रहरी कार्यालयभित्र प्रवेश गरी कम्प्युटरका सीपीयू तथा कागजातसमेत लिएर गएको बताएका छन्।

जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुबाट पक्राउ गरेको थियो। श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले उनीसँग सम्बन्धित कार्यालयमा खानतलासी गरी विभिन्न उपकरण तथा कागजात संकलन गरेको हो।

प्रहरीले श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा आवश्यक सामग्री संकलन गरिएको जनाएको छ।