प्यूठान । प्यूठानका विभिन्न खोला किनारमा बिहीबार पाँच जनाको शव फेला परेको छ। मृतक पाँचै जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान साढे ७ बजेतिर स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको थियो।
त्यसपछि स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोला किनारमा टाउकोभन्दा माथिको भाग नभएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोला किनारमा थप एक महिलाको शव फेला परेको छ।
बिहान साढे ९ बजेतिर स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोला किनारमा टाउको र खप्पर नभएको तथा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नरहेको अवस्थामा अर्की महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान १० बजेपछि माण्डवी गाउँपालिका–५ अर्थौसस्थित खोला किनारमा थप एक पुरुषको शव फेला परेको हो।
पाँचै जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोपछि आएको बाढीले शवहरू बगाएर प्यूठानका विभिन्न खोला किनारसम्म ल्याएको हुन सक्ने डिएसपी अधिकारीले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।