शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता

बिहिबार, साउन २८ २०८३

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बिहीबार बिहानदेखि जारी खोज तथा उद्धार अभियानका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको हो।

यसअघि पहिरोमा परी १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको पुष्टि भएको थियो।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ।

घटनामा हालसम्म नौ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय असिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

बिहीबार बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुको नेतृत्वमा प्रहरी टोली, इलाका प्रहरी कार्यालय थबाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विपद् उद्धार टोली घटनास्थलमा परिचालित छन्।

प्रहरीको विपद् उद्धार सामग्रीसहित घटनास्थल अनुसन्धान टोलीसमेत परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।