काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै महासंघले श्रेष्ठको तत्काल रिहाइको मागसहित धर्ना दिएको हो।
धर्नामा पत्रकार, सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ।
महासंघले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता र पत्रकारिताको संवैधानिक अधिकारमाथि गम्भीर प्रश्न उठाउने भन्दै श्रेष्ठको रिहाइका लागि दबाब दिँदै आएको छ।
श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकार महासंघले यसअघि पनि प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै तत्काल रिहाइको माग गरेको थियो।