शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघले आज प्रहरी परिसर अगाडि धर्ना दिने

बिहिबार, साउन २८ २०८३

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर, टेकु अगाडि धर्ना दिने भएको छ।

महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षधरलाई आग्रह गरेका हुन्।

नेपाल प्रहरीले बुधबार ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। पक्राउको भोलिपल्ट बिहीबार बिहान प्रहरीले ‘जनआस्था’को कार्यालयमा समेत खानतलासी गरेको छ।

श्रेष्ठको पक्राउ तथा सञ्चारगृहमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। महासंघले समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गर्ने तथा सञ्चारगृहमा खानतलासी गर्ने कार्यले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको जनाएको छ।

श्रेष्ठको पक्राउको विरोधमा बुधबार राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो।

महासंघले श्रेष्ठलाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै माग पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आवश्यक सबै संघर्षका कार्यक्रम अघि बढाउने महासंघको भनाइ छ।