शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किशोर श्रेष्ठ पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

बिहिबार, साउन २८ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

श्रेष्ठको पक्राउप्रति प्रतिक्रिया दिँदै प्रचण्डले स्थापित सञ्चारमाध्यमका सम्पादकलाई निश्चित कानुनी विधि र प्रक्रिया पालना नगरी राज्यद्वारा धरपकड गरिनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उपहास भएको बताएका छन्।

प्रचण्डले भनेका छन्, “नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो।”

समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट पत्रकारमाथि पक्राउ तथा धरपकड हुनु चिन्ताजनक रहेको उनले बताएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै कानुनी प्रक्रियाको पूर्ण पालना गर्न उनले राज्यका सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रचण्डले पत्रकारिता र प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष रहेको बताउँदै समाचारप्रति असहमति भए कानुनी तथा स्थापित प्रेससम्बन्धी संयन्त्रमार्फत समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।