काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहनुभएका देउवा बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ। राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गरिनेछ।
प्रहरीका अनुसार देउवालाई स्वागत गर्न जाने कार्यकर्तालाई विमानस्थलको गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइनेछ। अन्तर्राष्ट्रिय टर्मिनलको आगमन द्वारसम्म भने पार्टीका केही शीर्ष नेतालाई मात्रै प्रवेश अनुमति दिइने भएको छ। स्वागत कार्यक्रमको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने जनाइएको छ।
जेन–जी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जानुभएको थियो। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका थिए ।
स्वदेश फर्किएलगत्तै देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।
तीन दिनसम्म चल्ने भनिएको राष्ट्रिय भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने संस्थापनइतर समूहले जनाएको छ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारमा परी घाइते भएका देउवा त्यसयता उपचारका लागि विदेशमा रहनुभएको थियो। लामो उपचारपछि उहाँ आज बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन् ।