शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रियसभा बैठक आज बस्दै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथि छलफल हुने

बिहिबार, साउन २८ २०८३

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।

बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले उक्त प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

पाँच संसदीय समितिको बैठक

सङ्घीय संसद् सचिवालयका अनुसार आज विभिन्न पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता’ सम्बन्धमा छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम, कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।