काठमाडौं । ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उहाँको ललितपुरको नख्खुस्थित निवासमा मध्यराति छापा मारेको छ। प्रहरीले निवासबाट ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ।
बुधबार साँझ कुसुन्तीस्थित निवास नजिकबाट पक्राउ गरिएका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौं, टेकु लगिएलगत्तै प्रहरी टोली नख्खुस्थित उहाँको निवासमा पुगेको थियो। त्यसक्रममा घरमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिइएको बताइएको छ।
निवासमा छापा मारेपछि प्रहरीले ललितपुरको ठाडोढुंगास्थित ‘जनआस्था’को कार्यालयमा समेत जाने तयारी गरेको बताइएको छ। मिडिया हाउसमा प्रहरी प्रवेश गरी छापा मार्ने तयारीको खबरपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन्।
‘मिडिया हाउसमा गैरकानुनी रूपमा छापा मार्न पाइँदैन’ भन्दै प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यमको व्यावसायिक अधिकारको रक्षाका लागि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू जनआस्थाको कार्यालयमा पुगेका छन्।
प्रहरीका अनुसार श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी कसुरमा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो। एक जना पीडितले दिएको उजुरीका आधारमा श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तर, समाचार प्रकाशनसँग जोडिएको विषयमा सम्पादकलाई पक्राउ गर्ने र त्यसपछि निवास तथा मिडिया हाउसमा छापा मार्ने कदमले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको पत्रकार सम्बद्ध संघ–संगठनहरूले बताएका छन्। उनीहरूले कानुनी प्रक्रिया तथा प्रेससम्बन्धी स्थापित मान्यतालाई बेवास्ता गर्दै रातारात घर र सञ्चारगृहमा छापा मार्ने कार्य आपत्तिजनक भएको बताएका छन्।
श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्रसमेत आन्दोलित बनेको छ। पक्राउको खबरलगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए।
पत्रकारहरूले समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा प्रचलित कानुनी विधि र प्रक्रियामार्फत समाधान खोजिनुपर्ने बताएका छन्। समाचार प्रकाशनकै विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनीहरूको तर्क छ।
यस्ता घटनाले सञ्चारमाध्यम र पत्रकारमाथि डर तथा दबाबको वातावरण सिर्जना गर्न सक्ने भन्दै नेपाल पत्रकार महासंघलगायतका संस्थाहरूले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उहाँविरुद्ध लगाइएको आरोप तथा पक्राउसँग सम्बन्धित विषयमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।