काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ।
युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष अगस्त १२ मा अन्तरराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।
दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवा केन्द्रित बहस तथा पैरवी गर्ने, नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता बढाउने तथा युवामा साझेदारी र लगानी अभिवृद्धि गर्नु रहेको छ। यसका साथै युवामैत्री शासन प्रवद्र्धन तथा युवा केन्द्रित सरकारी, गैरसरकारी र निजी संस्था तथा निकायबीच सहकार्य र साझेदारी विस्तारमा समेत दिवसले जोड दिँदै आएको छ।
दिवसका अवसरमा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसमेत गरिनेछ।
यसैगरी, बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ। मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफलसमेत आयोजना गरिएको छ।
दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छवटा व्यवसायलाई पुरस्कृत गरिनेछ। सातै प्रदेशका युवा उद्यमीलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
अन्तरराष्ट्रिय युवा दिवस युवा जागरणका लागि विश्वव्यापी तथा साझा अभियानका रूपमा स्थापित भएको छ। यसले युवा केन्द्रित बहस, नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता र साझेदारी बढाउन प्रेरणा दिँदै आएको छ।
सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धन गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत दिवसका अवसरमा व्यक्त गरिँदै आएको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले अन्तरराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो। मानव जीवनको महत्वपूर्ण तथा ऊर्जाशील अवस्थाका रूपमा रहेको युवावर्गको क्षमता, सहभागिता र नेतृत्व विकासमा दिवसले विशेष जोड दिँदै आएको छ।