काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जसहित मधेसका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले घटनाको स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य छानबिन आयोग गठन गर्नुपर्ने पार्टीको माग यथावत रहेको बताएका हुन् ।
उनले गृह मन्त्रालयअन्तर्गत गठन हुने छानबिन समिति वा आयोगबाट घटनाको वास्तविकता बाहिर आउनुभन्दा सरकारका कमजोरी ढाकछोप हुनसक्ने आशंका व्यक्त गरे। सुरक्षा व्यवस्थामा भएका कमीकमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्नसमेत स्वतन्त्र आयोग आवश्यक रहेको उनको भनाइ छ।
कांग्रेसले घटनाका पीडितसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ। सरकारले सहमति र सम्झौता गर्न तत्परता देखाए पनि कार्यान्वयनमा उदासीन हुँदा नागरिकमा निराशा र सरकारप्रति अविश्वास बढेको प्रवक्ता चालिसेले बताए ।
यसैगरी, विगत १२ दिनदेखि अनशनरत विनय यादवका माग तत्काल सम्बोधन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। यादवको स्वास्थ्य अवस्था बिग्रँदै गएको र राष्ट्रिय मानव अधिकार आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै उहाँका माग सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ।
प्रवक्ता चालिसेले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिले राज्य नागरिकको अभिभावक हो भन्ने मान्यतामै प्रश्न उठ्ने बताए ।
उनले स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरी सुरक्षा क्षेत्रमा भएका कमीकमजोरी पहिचान गर्नुपर्नेमा जोड दिए। तालुकदार मन्त्रालयले आफ्नै कमजोरी छानबिन गर्न आयोग बनाउँदा समस्या समाधानभन्दा कमजोरी ढाकछोप हुने उनको भनाइ थियो।
यसैबीच, कांग्रेस प्रवक्ता चालिसेले पार्टीको आन्तरिक विवादसम्बन्धी विषय भने केन्द्रीय कार्यसमितिको बैठकमा अझै प्रवेश नगरेको जानकारी दिए। केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बुधबारसम्म बैठकले आवश्यक निर्णय गरी सार्वजनिक गर्ने उनले बताए ।