शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विद्युतीय सवारीको प्रयोगसँगै सडक सुरक्षा प्राथमिकतामा राख्नुपर्छ : महानिरीक्षक कार्की

मंगलबार, साउन २६ २०८३

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारीसाधन तथा वातावरणमैत्री मोबिलिटीका क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका छन् ।

मंगलबार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निजी क्षेत्रको अग्रसरताले दिगो, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायातको लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालजस्तो इन्धन खपत कम गर्नुपर्ने मुलुकका लागि विद्युतीय सवारीसाधनको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपाल प्रहरीले पनि वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले विद्युतीय सवारीसाधनको प्रयोग क्रमशः विस्तार गर्दै लगेको जानकारी दिए।

महानिरीक्षक कार्कीले भने सडक सुरक्षाको अवस्था भने गम्भीर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालभर करिब २९ हजार ९ सय ८८ वटा सडक दुर्घटना भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशत बढी हो।

नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले दुर्घटनामा दैनिक करिब १३० जना घाइते हुने र औसत सात जनाको मृत्यु हुने गरेको बताए। पछिल्लो एक वर्षमा सडक दुर्घटनामा २ हजार ७ सय ७ जनाले ज्यान गुमाएको र ४७ हजार ५ सय ५३ जना घाइते भएको उनले जानकारी दिए।

‘विद्युतीय तथा वातावरणमैत्री सवारीतर्फ निजी क्षेत्रको बढ्दो अग्रसरता प्रशंसनीय छ। यसले दिगो, सुरक्षित र वातावरणमैत्री सहरी यातायात विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ उनले भने ।

मोबिलिटी भनेको सवारीसाधनको आवागमन मात्र नभई आर्थिक, सामाजिक तथा समग्र जीवनलाई चलायमान बनाउने माध्यम भएको उनको भनाइ थियो। पुँजी, व्यवसाय, उपभोग र रोजगारीको चक्र चलिरहँदा मात्र अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै उनले मानिसदेखि अर्थतन्त्रसम्म निरन्तर गतिशीलता आवश्यक रहेको बताए ।

महानिरीक्षक कार्कीले अबको मोबिलिटी दिगो र वातावरणमैत्री मात्र नभई सुरक्षितसमेत हुनुपर्नेमा जोड दिनुभयो। सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायातका लागि राज्य, निजी क्षेत्र र नागरिक सबैले समान प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।