जनकपुरधाम । मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको गएराति निधन भएको छ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राति १२ः४५ बजे निधन भएको परिवारजनले जनाएको छ। उनको निधनले मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।
डा. विमलको पार्थिव शरीर जनकपुरधाम–४, देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरू निवासमा पुगेका छन्।
मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका डा. विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
सन् १९४७ जुलाई २६ मा धनुषाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए। जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको नेपाली विभागमा लामो समय अध्यापन गरेका उनी करिब चार दशकको प्राध्यापन यात्रापछि अवकाश लिएका थिए ।
साहित्य सिर्जनामा समेत उनी निरन्तर सक्रिय थिए। उनको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसयता उनी कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषाविज्ञानका क्षेत्रमा सक्रिय रहेका थिए ।
उनका चर्चित कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’लगायत छन्। उहाँका रचना ‘गोरखापत्र’, ‘मधुपर्क’ र ‘गरिमा’ लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए।
उनको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक तथा दर्शकमाझ पुर्याउन योगदान गरेको जनकपुरधामका साहित्यकार तथा पत्रकार नित्यानन्द मण्डलले बताए ।
यसैबीच मैथिली साहित्यका अग्रणी स्रष्टा डा. विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।