राष्ट्रिय स्वतन्त्र पाटिकी सांसद् स्मृति सेन्चुरीले पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेन्चुरीले स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित बन्न थालेको भन्दै पछिल्लो एक महिनामा भएका विभिन्न घटनाले नेपालको स्वास्थ्य क्षेत्रको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको बताइन्।
उनले गत ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको गम्भीर कुटपिट, त्यसलगत्तै भक्तपुर अस्पतालमा भएको आक्रमण तथा कालिकोटमा सामान्य वाईफाईको विषयलाई लिएर स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटना स्मरण गराउँदै यस्ता घटना तत्काल रोक्नुपर्ने बताइन्।
“वर्षौंको कठिन अध्ययन, लाखौँ रुपैयाँको लगानी र अनगिन्ती त्यागपछि चिकित्सक तथा स्वास्थ्यकर्मी बन्ने व्यक्तिहरू आज आफ्नै कार्यस्थलमा असुरक्षित छन्,” उनले भनिन्।
स्वास्थ्यकर्मीमाथि हुने हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनले आक्रमणमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै जेल विदाउट बेलको व्यवस्था लागू गर्न सरकारसँग माग गरिन्।