काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक तथा व्यावसायिक कार्ययोजनाबिना हेटौँडा कपडा उद्योग सञ्चालन गर्न खोजे पुरानै असफलताको पुनरावृत्ति हुने बताएका छन् ।
हेटौँडा कपडा उद्योगलाई ‘राजनीतिक स्टन्ट कि दिगो सञ्चालन’ भन्ने प्रश्न उठाउँदै पोखरेलले सामाजिक सञ्जालमार्फत उद्योग सञ्चालनका लागि ठोस योजना आवश्यक रहेको बताएका हुन् ।
‘स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ,’ उनले भने ।
महासचिव पोखरेलले नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग सञ्चालन गर्ने प्रयास हुने र केही दिन उद्योग चलेको देखाउने गरे पनि केही समयपछि पुनः बन्द हुने पुरानै नियति दोहोरिँदै आएको दाबी गरेका छन् ।
राजनीतिक प्रचारका लागि उद्योग सञ्चालनको नाटक दोहोर्याउनुभन्दा आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनसहित उद्योगलाई कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे ठोस योजना बनाउनुपर्ने उनको भनाइ छ ।
‘नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिन्छ, केही दिन चलेको नाटक पनि देखाइन्छ । तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिन्छ,’ पोखरेलले भनेका छन् ।
उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न राजनीतिक प्रचारभन्दा प्राविधिक, व्यावसायिक र व्यवस्थापकीय पक्षलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिएका छन् ।