काठमाडौं । साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंमा झमझम पानी परिरहे पनि शिवभक्तहरू छाता ओढ्दै तथा वर्षामा भिज्दै लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो । गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ ।
गौरीनगरसम्मै दर्शनार्थीको लाम लागेको छ । बिहानैदेखि सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा चढाउन आउने बोलबम भक्तजनको समेत उल्लेख्य उपस्थिति रहेको छ ।
दर्शनार्थीलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा विशेष पूजा गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ । दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधि परिचालन भएका छन् ।
सवारी आवागमन व्यवस्थापनका लागि गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।
बिहान ३ बजेदेखि खुलेका पशुपतिनाथका चारवटै ढोका बेलुकी आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र सञ्चालन हुने जनाइएको छ ।
मन्दिर प्रवेशका लागि चारवटै दिशाबाट छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ । भक्तजनको ठूलो भीड भए पनि लाममा लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्राथमिक उपचारसहितका अत्यावश्यक व्यवस्था मिलाइएको छ । विभिन्न सङ्घसंस्थाले दर्शनार्थीका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् ।
साउनको अन्तिम सोमबारका अवसरमा काठमाडौंका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेव मन्दिरलगायत देशभरका ठूला–साना शिवालयमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको रासस प्रतिनिधिहरूले जनाएका छन् ।