काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि जारी संघर्षलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्।
विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन्।
‘पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो,’ उनले भनेका छन्।
उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने उल्लेख गरेका छन्। सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने उनको भनाइ छ।