शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न डिपोमा सादा पोसाकका प्रहरी परिचालन

आइतबार, साउन २४ २०८३

काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपोमा निगरानी तथा अनुगमन थालिएको हो।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा बजारमा एकाएक अभाव देखिनुका साथै महँगो मूल्यमा बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिनुभएको थियो।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि भइरहेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति, बिक्री–वितरण तथा सम्भावित कालोबजारीबारे निगरानी थालिएको हो।

प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा अन्य कुनै किसिमको कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी अनुगमन गरिरहेको जनाएको छ।

गृह मन्त्रालयका अनुसार उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचना तथा अवस्थाको मूल्याङ्कनपछि आवश्यक परे देशका अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइनेछ।

सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउने तयारीसमेत सरकारले गरेको छ।