काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्नेछ। कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारी बैठक बसेर छलफलका एजेन्डा तय गर्ने प्रचलन छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दैछ। संस्थापन इतर समूहले यही २९ साउनमा राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल गर्ने तयारी गरेको हो।
संस्थापन इतर समूहका नेताहरूले राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल गठनसम्मको निर्णय लिन सक्ने बताउँदै आएका थिए।
तर, सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनरावलोकनको बाटो खोलेपछि तत्काल पार्टी विभाजनको सम्भावना कमजोर बनेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो।