काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरुमै मधेस प्रदेशको ढल्केबरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजनाबारे स्पष्ट जवाफ दिन माग गरिएको छ।
बैठकको प्रारम्भमा विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवलाई बोल्न समय दिएका थिए ।
सांसद यादवले मधेस प्रदेशका धेरै जिल्लाका बासिन्दाका लागि केन्द्रजस्तै रहेको तथा प्रमुख राजमार्गको बीचमा पर्ने ढल्केबरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर निर्माण गर्ने योजना सरकारले अघि बढाएको भए पनि अहिले त्यसबाट पछि हट्न खोजेको भन्दै आपत्ति जनाए।
उनले विगतका सरकारले अघि बढाएको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने योजनामा हेरफेर गर्न नहुने बताउँदै सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरे। सरकारको जवाफ नआएसम्म आफू मौन रूपमा उभिइरहने उनले बताए ।
विपक्षी दलका सांसदहरू राष्ट्रिय महत्वका विषयमा ध्यानाकर्षण गराउँदै आफ्नो आसनबाट उठेपछि सत्ता पक्षका सांसदले भने नियमापत्ति जनाएका थिए।
यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै जुनसुकै विषयमा बोल्ने विपक्षी सांसदहरूको शैलीप्रति आपत्ति जनाएका थिए। रास्वपाका सांसद मनिष खनालले विषय र समयअनुसार बोल्ने व्यवस्था गर्नुपर्ने भन्दै बैठक सुरु हुनेबित्तिकै विरोध जनाउने र त्यसका लागि समय दिइरहने प्रवृत्ति अन्त्य गर्न सभामुखसँग आग्रह गरे ।
सांसद यादव उभिइरहेपछि सभामुख अर्यालले उनलाई आफ्नो आसनमा बसेर सभाको मर्यादा कायम गर्न आग्रह गरे। तर यादव उभिइरहेपछि सभामुखले पुनः उनलाई बोल्न समय दिएका थिए ।
त्यसपछि सांसद यादवले मधेस प्रदेशको केन्द्रजस्तो रहेको ढल्केबरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा सरकारले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याए ।
यस विषयमा सभामुख अर्यालले सरकारलाई जवाफ दिन निर्देशन दिएका छन् ।