काठमाडौं । दोलखाको तामाकोशी पुलबाट नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ।
वैतेश्वर गाउँपालिका–४ की सितामाया दाहालले बिहान करिब ७ बजे बगरबासमा गाडीबाट ओर्लिएर तामाकोशी नदीमा हाम फालेको वडा अध्यक्ष कुमार चौलागाईंले जानकारी दिए।
नदीमा हाम फालेकी दाहालको शव केही तल नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकका आफन्तलाई खबर गरी शवको मुचुल्का उठाउने तथा घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।
यसअघि बुधबार साँझ करिब ६ः३० बजे काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली पनि सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए।
लगातारका यस्ता घटनाले नदी तथा पुल क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुपर्ने आवश्यकता देखिएको छ।