काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयक तथा एक समितिको प्रतिवेदन प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछन्।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
तीन संसदीय समितिको बैठक पनि आजै
प्रतिनिधिसभाको बैठकसँगै आज तीनवटा संसदीय समितिको बैठक पनि बस्ने भएको छ।
बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुनेछ।
उही समयमा बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ।
त्यसैगरी, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा पोलहरूको व्यवस्थापन अभावका कारण सडक निर्माणमा परेको असर र ढिलाइबारे सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।