काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको छ। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।
दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।