शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका अधिकारीसँग गरे छलफल, वित्तीय संकटमा परेकालाई राहतका उपाय खोज्न आग्रह

बिहिबार, साउन २१ २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकटमा परेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्न सकिने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।

अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए। छलफलको सुरुवातमा अर्थमन्त्री वाग्लेले उनीहरूलाई राज्यका अनुभवी र सक्षम अर्थशास्त्रीको रूपमा सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि ठोस सुझाव दिन आग्रह गरेका थिए।

नयाँ बजेट कार्यान्वयनमा आइसकेकाले त्यसलाई आधार बनाएर आर्थिक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको अर्थमन्त्री वाग्लेले बताए। त्यसका लागि अर्थतन्त्रलाई चलायमान बनाउँदै विगतका नीतिका कारण वित्तीय संकटमा परेका नागरिक तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।

विशेषगरी ऋण तिर्न नसकेर कालोसूचीमा परेका हजारौँ नागरिकलाई पुनः आर्थिक गतिविधिमा फर्काउने गरी ‘दोस्रो अवसर’ दिन सकिने उपायबारे सुझाव दिन अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई आग्रह गरेका थिए।

उनले मौद्रिक नीति कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल राष्ट्र बैंकले स्वच्छ नियमन, लगानीमैत्री वातावरण र प्रभावकारी सहजीकरणमार्फत आर्थिक समृद्धिको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने विश्वास व्यक्त गरे।

छलफलमा सहभागी राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठनपछि बजारमा बिस्तारै आत्मविश्वास बढ्न थालेको उल्लेख गर्दै निकट भविष्यमा अर्थतन्त्रले सकारात्मक लय समात्ने संकेत देखिन थालेको धारणा व्यक्त गरेका थिए।