काठमाडौँ । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रिया पूरा गरेपछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
शपथग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिइन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा तथा पेसागत नियमनलाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री मेहताले परिषद्को जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउन नवनियुक्त अध्यक्ष आलमलाई शुभकामना समेत दिइन्।