शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

बुधबार, साउन २० २०८३

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा छिटो, छरितो, पारदर्शी र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।

हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको छ। प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासालाई एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ।

नयाँ प्रणाली लागू भएपछि नागरिकले हेलो सरकारमार्फत सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गरी त्यसको कारबाही तथा प्रगतिको जानकारी लिन सक्नेछन्। सम्बन्धित कार्यालयमै गुनासो दर्ता गर्न नचाहने सेवाग्राहीका लागि भने स्वचालित प्रणालीमार्फत गुनासो सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिनेछ।

गुनासोको प्रगति अनुगमनदेखि सेवाग्राहीलाई जानकारी दिने प्रक्रियासमेत एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।

सरकारी कल सेन्टरसमेत अन्तरआबद्ध गरिने

योजनाअनुसार सरकारी कल सेन्टरलाई समेत आपसमा अन्तरआबद्ध गरिनेछ। निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको प्रकृतिअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिने प्रस्ताव छ।

सम्बन्धित निकायबाट सेवा उपलब्ध हुन नसकेमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने व्यवस्था गरिनेछ। यसबाट एउटै समस्या लिएर नागरिकले पटक–पटक विभिन्न सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

नयाँ प्रणालीमा सेवाग्राहीले विगतमा दर्ता गरेका गुनासो, त्यसको अवस्था र प्रगतिसम्बन्धी विवरणसमेत हेर्न सक्ने व्यवस्था गरिनेछ। एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने प्रणाली पनि विकास गरिनेछ।

हालै तयार गरिएको ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ले संघ, प्रदेश र स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने प्रस्ताव गरेको छ।

गुनासो सम्बोधनका लागि समयसीमा प्रस्ताव

दिग्दर्शनमा गुनासोको प्रकृतिअनुसार सम्बोधनको समयसीमा तोक्ने प्रस्ताव गरिएको छ। जसअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी गुनासो तीन दिनभित्र, जरुरी गुनासो सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

गुनासो समाधान भएपछि सम्बन्धित नागरिकलाई प्रणालीमार्फत त्यसको जानकारी गराइनेछ। साथै समस्या वास्तवमै समाधान भए–नभएको विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएपछि मात्रै गुनासो फर्छ्यौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सुधारका यी योजना कार्यान्वयनमा आएपछि हेलो सरकार केवल गुनासो दर्ता गर्ने केन्द्रमा सीमित नरही गुनासो व्यवस्थापनका सबै चरणमा प्रभावकारी रूपमा काम गर्ने, राष्ट्रिय समस्याको वास्तविक अवस्था पहिचान गर्ने तथा सरकारलाई नीति निर्माणमा आवश्यक पृष्ठपोषण उपलब्ध गराउने संयन्त्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

एक वर्षमै ३२१ प्रतिशतले बढे गुनासा

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा गुनासो दर्ता ३२१ प्रतिशतले बढेको छ।

कार्यालयका अनुसार आव २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२/८३ मा यो संख्या बढेर ६९ हजार ७२४ पुगेको छ। अर्थात् एक वर्षमै ५३ हजार १५६ गुनासा थपिएका छन्।

उपसचिव सापकोटाले वर्तमान सरकार गठन भएपछि गुनासोको संख्या उल्लेख्य रूपमा बढेको बताउँदै यसलाई सरकारप्रति नागरिकको विश्वास र अपेक्षाका रूपमा समेत बुझ्नुपर्ने बताए ।

पछिल्ला पाँच आर्थिक वर्षमा हेलो सरकारमा कुल एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन्। तीमध्ये गत आव २०८२/८३ मा मात्रै ६९ हजार ७२४ गुनासा आएका छन्, जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशत हो।

आव २०७८/७९ देखि २०८१/८२ सम्म चार आर्थिक वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै योभन्दा बढी अर्थात् ६९ हजार ७२४ गुनासा दर्ता भएका हुन्।

तीन महिनामै ५० हजारभन्दा बढी गुनासा

हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा मात्रै ५० हजार ७२१ गुनासा दर्ता भएका छन्। तीमध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार उक्त अवधिमा १८ हजार ५४२ गुनासा फर्छ्यौट गरिएका छन् भने ५४७ गुनासा अझै नहेरिएको अवस्थामा छन्। त्यस्तै, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका/नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएको अवस्थामा छन्।

हेलो सरकारको टोल–फ्री सेवामा सोही अवधिमा ५० हजार १९६ फोन कल प्राप्त भएकामा ४० हजार १६ कल सम्बोधन गरिएको जनाइएको छ।

चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै हेलो सरकारमा नौ हजार ६१० गुनासा प्राप्त भएका छन्। तीमध्ये ६ हजार ६०१ गुनासा फर्छ्यौट भइसकेका छन्।

हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको संख्या भने समावेश नगरिएको जनाएको छ।