काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक बिटमा कार्यरत पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या तथा चुनौती, नीतिगत सुधार र सरकार तथा सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
मन्त्रालयका अनुसार सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका समस्या तथा सूचना प्रवाहलाई थप सहज र विश्वसनीय बनाउने विषयमा अन्तरक्रिया केन्द्रित हुनेछ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा राजनीतिक बिट हेर्ने पत्रकारहरूलाई आमन्त्रण गरिएको छ।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित सरोकारवाला, सञ्चारमाध्यम, शिक्षा तथा राजनीतिक बिटका पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। यस्ता संवादबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सरकार र सञ्चारमाध्यमबीच नियमित संवाद तथा सहकार्यले सूचना प्रवाहलाई थप प्रभावकारी र विश्वसनीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।