आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्रियसभाको बैठक बस्दै

सोमबार, साउन १८ २०८३

काठमाडौँ  । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गर्नेछन् ।

यसैबीच, आज चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ ।

सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल गर्ने कार्यसूची छ ।

अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ ।

त्यस्तै, अपराह्न २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।