आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

श्रावणको तेस्रो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

सोमबार, साउन १८ २०८३

काठमाडौँ  । चन्द्रमासअनुसार श्रावणको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बोलबम यात्रामा सहभागी भक्तजनका लागि पनि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथ मन्दिर प्रवेशका लागि चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजनको ठूलो भीड लागेपछि मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेव मन्दिरलगायत ठूला–साना शिवालयमा पनि दर्शनार्थीको लाम लागेको छ ।

श्रावण महिनाको सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने धार्मिक परम्पराअनुसार भक्तजन बिहानैदेखि शिवालय पुग्ने गरेका छन्।