आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

साउनको तेस्रो सोमबारको तयारी : पशुपति क्षेत्रमा चौथो चरणको सफाइ

आइतबार, साउन १७ २०८३

काठमाडौँ । साउनको तेस्रो सोमबारलाई लक्षित गर्दै आराध्यदेव भगवान् श्री पशुपतिनाथको मन्दिर परिसर तथा आसपासका क्षेत्रमा चौथो साताको सफाइ गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले साउनका सोमबार हुने भक्तजनको चापलाई ध्यानमा राख्दै चार साताअघि शनिबारदेखि नियमित सफाइ अभियान सञ्चालन गर्दै आएको हो। अभियानअन्तर्गत आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य एवं स्थानीयवासी पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।

उनका अनुसार आज भक्तजन दर्शनका लागि लाम बस्ने चारवटै ढोकाअगाडिको क्षेत्र तथा मूल ढोका प्रवेश गर्ने मार्ग आसपासमा विशेष सफाइ गरिएको छ। यस्तै, बज्रघर दक्षिणढोका, रुद्रगारेश्वर तथा वासुकी मन्दिर क्षेत्रसमेत सफा गरिएको छ।

साउनको सोमबार भक्तजनको चाप बढ्ने भएकाले मन्दिरको सुरक्षा व्यवस्था थप कडा बनाइने कोषले जनाएको छ। साउन १८ गते सोमबार बोलबम यात्रा हुने भएकाले पशुपति क्षेत्रमा विशेष व्यवस्थासमेत मिलाइएको छ।

बोलबम यात्रामा सहभागी भक्तजनलाई वासुकीतर्फबाट प्रवेश गराई मूल मन्दिरको उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको भण्डारीले बताए।

सफाइ अभियानमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, स्थानीय सङ्घसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो। प्रहरी पहरा गणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिसमेत सफाइ अभियानमा सहभागी भएका थिए।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन्। साउन ४ र ११ गतेका पहिलो तथा दोस्रो सोमबार सम्पन्न भइसकेका छन् भने अब साउन १८ र २५ गते सोमबार परेको छ। बाँकी दुई सोमबार पनि भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना तथा दर्शन गराउने उद्देश्यले सफाइ र व्यवस्थापनलाई तीव्रता दिइएको हो।

यद्यपि, चान्द्रमासअनुसार साउन १८ गतेको सोमबारलाई पहिलो सोमबार मानिन्छ। कतिपय भक्तजनले चान्द्रमासअनुसार साउन सुरु भएपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना तथा दर्शन गर्ने परम्परा रहेको बताउने गरेका छन्।