शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी पक्राउ

शुक्रबार, साउन १५ २०८३

स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको हकहितमा क्षति पुर्‍याएको आरोपमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका क्रममा जिल्ला दाङ धनौरी–९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२३ बस्ने ५२ वर्षीय भुपेन्द्र भण्डारीलाई यही साउन १४ गते पक्राउ गरिएको हो । पक्राउका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरणले २०७० वैशाख २ गते स्मार्ट टेलिकम प्रा.लि.लाई आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको भए पनि कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख २ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको देखिएको छ ।

अनुमतिपत्र रद्द भएपछि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आएको थियो ।

तर, अनुसन्धानका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा उक्त सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ विपरीत गैरकानुनी रूपमा लिलाम गरी एनसेल आजीयाटा लिमिटेडलाई हस्तान्तरण गरिएको आरोप छ । यसबाट नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी हकहितमा क्षति पुगेको भन्दै प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।