काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सङ्घीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ आन्तरिक निर्देशन जारी गरेको छ। निर्देशनअनुसार अब स्वकीय सचिव नियुक्त गर्नुअघि रास्वपा संसदीय दलको अन्तिम स्वीकृति अनिवार्य हुनेछ।
पार्टीले राज्यकोषबाट उपलब्ध गराइने सुविधाको पारदर्शी, मितव्ययी र जनउत्तरदायी उपयोग सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्देशन जारी गरेको जनाएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद र परिवारवादलाई निरुत्साहित गर्दै प्रविधिमैत्री क्षमता भएका, अनुसन्धानमा दक्ष र पार्टीको मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ।
निर्देशनमा समावेशी प्रतिनिधित्वलाई प्रोत्साहन गर्ने, दोहोरो सुविधा लिने वा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त नगर्ने तथा छनोट, नियुक्ति र अनुमोदन प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
रास्वपाले योग्य उम्मेदवार छनोट गरेपछि नियुक्तिपूर्व संसदीय दलबाट अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। साथै, पार्टीका सबै सांसदले उच्च नैतिक आचरण र जनउत्तरदायित्वको मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ।