काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका प्रमुख निर्यातजन्य उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग आज निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।
छलफलमा निर्यात प्रवर्द्धनका क्रममा उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, आवश्यक नीतिगत सुधार तथा समस्या समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायसँग नियमित संवाद गर्दै आएका छन्। यसैक्रममा निर्यात अभिवृद्धि र उत्पादनमुखी उद्योगको विकासलाई केन्द्रमा राखेर आजको छलफल आयोजना गरिएको हो।