बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने, वाङ यीसँग भेट हुने

शुक्रबार, साउन ८ २०८३

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही साउन अन्त्यतिर पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाने तयारीमा छन्।

रास्वपा स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै चिनियाँ सत्तारूढ दलका उच्च नेताहरूसँग पनि भेटघाटको तयारी रहे पनि त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

पार्टी स्रोतका अनुसार यो भ्रमण ‘पार्टी टु पार्टी’ सम्बन्धअन्तर्गत हुन लागेको हो। लामिछानेलाई यसअघि नै चीनबाट निमन्त्रणा आएको भए पनि यसपटक भ्रमणको कार्यतालिका तय भएको बताइएको छ। भ्रमणमा नेपाल–चीन सम्बन्धलाई थप गहिरो, व्यावहारिक र अर्थपूर्ण बनाउने विषय मुख्य एजेन्डा रहने जनाइएको छ।

भ्रमण टोलीका अन्य सदस्यको टुंगो लाग्न बाँकी रहे पनि टोलीमा सरकारी प्रतिनिधि सहभागी नहुने स्रोतले जनाएको छ।

रास्वपाका एक नेताका अनुसार भारत भ्रमणपछि लामिछानेले चीनसँग पनि उच्च राजनीतिक तहमा संवादलाई निरन्तरता दिन लागेका हुन्। भ्रमणका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्था र द्विपक्षीय सम्बन्धका विषयमा विश्वासको वातावरण निर्माण गर्ने प्रयास गरिने बताइएको छ।

लामिछानेले यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण गरेका थिए। त्यसक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। भारत भ्रमणका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवाद तथा नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा पनि चासो व्यक्त गरिएको थियो।

यद्यपि, रास्वपाले सभापति लामिछानेको चीन भ्रमणको औपचारिक कार्यतालिका र प्रतिनिधिमण्डलका सदस्यहरूको अन्तिम सूची भने सार्वजनिक गरिसकेको छैन।