काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्दै रु १ खर्ब १८ अर्ब पाँच करोडभन्दा बढी बिगो दाबी गरेको छ।
बिहीबार विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनामाथि स्क्रिनिङ कमिटीबाट प्रारम्भिक छलफल गरिन्छ। प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी कानुनी प्रक्रिया अगाडि बढाइने व्यवस्था रहेको छ।
अनुसन्धान तथा अभियोजनको कार्य प्रभावकारी बनाउन विभागमा चारवटा अनुसन्धान शाखासँगै कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखा सञ्चालनमा छन्।
विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान, तहकिकात र अभियोजन प्रक्रियालाई थप तीव्र बनाइएको विभागको भनाइ छ।