आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकैदिन ४७ विपद्जन्य घटना, पहिरोमा दुई जनाको मृत्यु

बिहिबार, साउन ७ २०८३

काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ वटा विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना दर्ता भएका छन्।

प्राधिकरणका अनुसार ती घटनाबाट सात परिवार प्रभावित भएका छन्। मृत्यु भएका दुवै व्यक्तिको ज्यान पहिरोका कारण गएको हो भने पाँच जना घाइते भएका छन्।

विपद्जन्य घटनाबाट करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसैबीच, चालु वर्षको वैशाख १ गतेयता देशभर दुई हजार ३६१ वटा विपद्जन्य घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनामा परी हालसम्म १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार यस अवधिमा चार हजार ८६९ परिवार विभिन्न प्रकारका विपद्बाट प्रभावित भएका छन्। मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र सर्पदंशका घटनामा वृद्धि भइरहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।