मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अनुगमनमा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना

मंगलबार, साउन ५ २०८३

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ।

विभागका अनुसार महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित इभ कलेक्सनलाई १० हजार रुपैयाँ र काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित स्टोर अमिसालाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो। ती फर्ममाथि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

सोमबार विभागले विभिन्न १० वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अधिकांश व्यवसायमा सुधार गर्नुपर्ने अवस्था देखिएकाले आठ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ।

विभागले उपभोक्ता अधिकारकर्मीहरूको उपस्थितिमा नियमित बजार अनुगमन सञ्चालन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले उपभोक्ताको हित संरक्षण, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने तथा व्यवसायीलाई कानुनी व्यवस्था पालना गराउन नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।