खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहारबाट ३८ वर्षीय ध्रुव अधिकारीको हत्या भएको घटनामा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनालगत्तै तीलकबहादुरलाई नियन्त्रणमा लिइएको थियो भने श्रीमती र छोरीलाई शुक्रबार अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार अधिकारीको मृत्युपछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि मृतकका आफन्तले श्रीमती र छोरीविरुद्ध पनि किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक अधिकारी तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएका बेला आर्थिक कारोबार र घरायसी विवाद चर्किएपछि खुकुरी प्रहार भएको थियो। घटनास्थलमै अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न तीनै जनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणपछि अधिकारीको शव आफन्तको जिम्मा लगाइएको छ।