मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै

शुक्रबार, असार २६ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा र ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ। अधिकतम भने पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको ६० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस निक्षेप सङ्कलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।