बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न गोताखोर टोली परिचालन

शनिबार, असार २० २०८३

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि बेपत्ता गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट विशेष गोताखोर टोली परिचालन गरेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थल पुगेको छ। टोलीले पानीमुनि तथा तीव्र भेलमा खोजी गर्न प्रयोग हुने सोनार क्यामरा, चुम्बक (म्याग्नेट) लगायतका विशेष उपकरणको प्रयोग गरी खोजी कार्य सञ्चालन गर्नेछ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी असार १८ गते कर्णाली राजमार्गबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनापछि सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोरसहितको उद्धार टोली तत्काल परिचालन गरिएको थियो।

दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेर निकालिएको थियो। तर गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।