काठमाडौं । कोलम्बिया ले घाना माथि १–० को जित निकाल्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान सम्पन्न राउन्ड अफ ३२ को खेलमा कोलम्बियाले घानालाई पराजित गर्दै नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो।
कोलम्बियाको जितमा जोन एरियास ले निर्णायक गोल गरे। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेज को पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोल नै खेलको निर्णायक बन्यो।
यससँगै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बियाले स्विट्जरल्यान्ड सँग प्रतिस्पर्धा गर्नेछ।
सातौँ पटक विश्वकप खेलिरहेको कोलम्बियाले विश्वकपको नकआउट चरणमा दोस्रो जित दर्ता गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो।
कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेताका रूपमा राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो।