मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन सेवा

शनिबार, असार २० २०८३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबारदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहक सेवालाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको हो।

बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार नयाँ सेवामार्फत ग्राहकले अब घरमै बसेर डिजिटल माध्यमबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे हुने अन्योल अन्त्य हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

रेग्मीका अनुसार यस सेवाले कर्जा प्रक्रियालाई अझ छिटो, झन्झटरहित र पारदर्शी बनाउनेछ।

अनलाइन कर्जा आवेदनका लागि ग्राहकले राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइटमा गएर ‘Online Loan Application’ लिंकमार्फत RBB Xmart Lending Digital Loan Portal मा प्रवेश गर्नुपर्नेछ। पोर्टल प्रयोग गर्न इमेल, युजरनेम र पासवर्डको माध्यमबाट प्रयोगकर्ता दर्ता (User Registration) गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले डिजिटल सेवाको विस्तारसँगै ग्राहकलाई सहज, सुरक्षित र पारदर्शी बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।