सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

शनिबार, असार २० २०८३

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन वायुको प्रभावका कारण देशका धेरै स्थानमा बदली रहने र मेघगर्जन तथा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले नै मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। साथै पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।