काठमाडौं । दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर घटनास्थलमा परिचालन भएका छन्।
बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार बिहीबार करिब पाँच घण्टासम्म गोताखोरले खोजी गरे पनि गाडी फेला पार्न नसकेपछि शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजी थालिएको हो।
उनका अनुसार नदीको जलसतह बढेको, बहाव अत्यन्त तीव्र रहेको तथा पानी धमिलो भएका कारण उद्धार र खोजी कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा सिधै पुग्ने सडकसमेत नभएकाले अछाम जिल्लाको बाटो हुँदै उद्धार टोली परिचालन गरिएको छ।
दुर्घटनास्थल नजिकै भिरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।
खोजी तथा उद्धारमा जिल्ला प्रहरी कार्यालय दैलेख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालित छ।
प्रहरीका अनुसार सुर्खेतबाट गाडी छुट्दा तीन जना, दैलेखको डुङ्गेश्वरबाट दुई जना तथा चालक र सहचालक गरी हालसम्म आधिकारिक रूपमा सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ।