सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मेलम्चीको पानी आपूर्ति बन्द

शुक्रबार, असार १९ २०८३

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीबाट भइरहेको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानको पानीको गुणस्तर बिग्रिएकाले प्रशोधन प्रक्रिया प्रभावित भएको छ। त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानीको प्रवाह रोकिएको उनले जानकारी दिए।

उनका अनुसार वर्षाका कारण मुहानमा आएको अत्यधिक धमिलो पानी तत्काल प्रशोधन गर्न सम्भव नभएकाले आपूर्ति अस्थायी रूपमा स्थगित गरिएको हो।

केयुकेएलले पानीको गुणस्तरमा सुधार आएलगत्तै प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति सुचारु गरिने जनाएको छ।

निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौं उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने केयुकेएलले जनाएको छ।