सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

बिहिबार, असार ११ २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पौडेललाई पक्राउ गर्नुको कानुनी आधार र आवश्यकताबारे स्पष्ट पार्न सम्बन्धित निकायलाई आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले गत सोमबार सुर्खेतबाट पक्राउ गरी पौडेललाई काठमाडौं ल्याएको थियो। पक्राउपछि उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

रिट निवेदनमा पौडेललाई पक्राउ गर्न पर्याप्त कानुनी आधार नभएको दाबी गर्दै थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ। साथै पक्राउ प्रक्रिया गैरआवश्यक र असंगत रहेको जिकिर पनि निवेदनमा गरिएको छ।

सर्वोच्च अदालतले पक्राउ आदेश जारी गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउको कारण र आधारबारे लिखित जवाफ माग गरेको छ। उक्त कारण पेश भएपछि आगामी सुनुवाइमा आवश्यक निर्णय लिइने अदालत स्रोतले जनाएको छ।