सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

बिहिबार, असार ११ २०८३

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

चाँगुनारायण र सूर्यविनायक नगरपालिकास्थित कुखुरा फार्ममा बर्डफ्लू संक्रमण देखिएपछि नियन्त्रणका लागि प्रभावित फार्मका कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ।

पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ मा रहेका फार्मका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ। यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्ममा रहेका नौ हजार ३७८ कुखुरा पनि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो।

जिल्लाभर हालसम्म ४८ हजार १७३ कुखुरा नष्ट गरिएको बताउँदै डा. श्रेष्ठले बर्डफ्लू पुष्टि भएका फार्ममा संक्रमण थप फैलिन नदिन आवश्यक नियन्त्रणका उपायहरू अपनाइएको जानकारी दिनुभयो।

सम्बन्धित निकायले कुखुरा पालक किसानलाई सतर्कता अपनाउन तथा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मर्न थालेमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।