काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका अवसरमा घरघरका मठमा तुलसीको दल राख्ने परम्परा निर्वाह गर्दै छन्।
हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने चलन रहिआएको छ। यस दिन राखिएको तुलसीको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ। यस वर्ष अधिकमास परेकाले सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नमिल्ने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राखिएको हो।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। यस अवधिलाई चतुर्मास भनिन्छ। तुलसीलाई हुर्काएर भगवान् दामोदरसँग विवाह गराइने धार्मिक परम्परासँग पनि यो अवधि जोडिएको छ।
चतुर्मासभर स्नान, पूजन तथा दान–धर्म गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको छ। निर्जला एकादशीका दिन पानीसमेत नपिई व्रत बस्नाले विशेष पुण्य तथा अभिष्ट फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउँछन् ।
उनका अनुसार स्वास्थ्य अवस्था र क्षमताअनुसार व्रतालुले पानी नखाई उपवास बस्न सक्छन् भने नसक्नेहरूले फलफूल सेवन गरेर पनि व्रत गर्न सक्छन्।
धार्मिक महत्वका साथै तुलसीलाई आयुर्वेदिक दृष्टिले पनि महत्वपूर्ण औषधीय वनस्पतिका रूपमा लिइन्छ। विभिन्न रोगको उपचारमा प्रयोग हुने तुलसीमा प्रशस्त अक्सिजन उत्पादन हुने तथ्यलाई आधुनिक विज्ञानले समेत स्वीकार गरेको छ।